३५ वर्षमुनिका युवाका लागि कांग्रेसमा २१ केन्द्रीय सिट, २९७ सदस्यीय बन्यो कार्यसमिति – Nepalboli

३५ वर्षमुनिका युवाका लागि कांग्रेसमा २१ केन्द्रीय सिट, २९७ सदस्यीय बन्यो कार्यसमिति

   २०८३ आश्विन २०, मंगलवार  

काठमाडौं— नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय संरचनामा युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउने गरी नयाँ व्यवस्था गरेको छ । सोमबार खुलामञ्चमा बसेको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत संशोधित विधान पारित गरेसँगै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको हो ।

नयाँ विधानले केन्द्रीय नेतृत्वमा उमेर, लिंग, जातीय तथा क्षेत्रीय प्रतिनिधित्वलाई छुट्टाछुट्टै कोटामार्फत सुनिश्चित गरेको छ । विशेषगरी ३५ वर्षमुनिका युवाका लागि २१ केन्द्रीय सदस्यको व्यवस्था गरिएको छ ।

विधानअनुसार कांग्रेसमा सभापति र वरिष्ठ उपसभापति एक–एक जना तथा उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्नेछ । तीन महामन्त्रीमध्ये पनि एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्रीको संख्या बढाएर १५ जना पुर्‍याइएको छ भने कोषाध्यक्ष केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनीत हुनेछन् ।

खुला र समावेशी समूहका लागि छुट्टाछुट्टै सिट

नयाँ संरचनाअनुसार केन्द्रीय सदस्यतर्फ खुला समूहबाट ४५ जना र महिला समूहबाट १५ जना निर्वाचित हुनेछन् । सातै प्रदेशबाट एक महिलासहित चार–चार जना तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।

समावेशी समूहअन्तर्गत दलित समुदायबाट पाँच महिलासहित १४ जना, आदिवासी जनजातिबाट आठ महिलासहित २० जना, खसआर्यबाट आठ महिलासहित १८ जना र मधेसी समुदायबाट पाँच महिलासहित १३ जना निर्वाचित हुनेछन् ।

त्यस्तै थारु समुदायबाट दुई महिलासहित ६ जना, श्रमिकतर्फ एक महिलासहित ३ जना तथा पेशागत तथा विज्ञ समूहबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य रहनेछन् ।

जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना र पिछडिएको क्षेत्रबाट ३ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान राखिएको

युवा पुस्ताका लागि २१ सिट

कांग्रेसको नयाँ विधानमा युवा प्रतिनिधित्वका लागि छुट्टै व्यवस्था गरिएको छ। ३५ वर्षमुनिका महाधिवेशन प्रतिनिधिमध्येबाट सातै प्रदेश समेटिने गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

यसैगरी अपाङ्गता भएका व्यक्तिका लागि एक जना तथा प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारतर्फबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्न सक्ने प्रावधान विधानमा राखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै