आज तीजको दर खाने दिन: परम्पराको तयारी कि तडकभडकको सुरुवात ?
काठमाडौं— हरितालिका तीजको औपचारिक सुरुवातसँगै नेपाली महिलाको घर–आँगनमा दरको तयारी सुरु भएको छ । भाद्र शुक्ल द्वितीयाका दिन खाइने दरलाई परम्परागत रूपमा भोलिपल्टको निराहार व्रतका लागि शरीरलाई आवश्यक शक्ति जुटाउने तयारीका रूपमा लिइन्छ । तर पछिल्ला वर्षमा यही दर खाने परम्परा महिनौँअघिदेखि हुने भोज, तडकभडक र प्रदर्शनसँग जोडिन थालेपछि यसको मौलिक संस्कृतिमाथि प्रश्न उठ्न थालेको छ ।
परम्पराअनुसार तीजको व्रत बस्नुअघि आज बेलुकी दर खाने गरिन्छ । विशेषगरी माइतीले चेलीबेटी, दिदीबहिनी तथा इष्टमित्रलाई बोलाएर दर खुवाउने चलन छ । दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा दरका रूपमा प्रयोग गर्ने गरिएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
एक दिनको दर, महिनौँको भोज
परम्परागत रूपमा तृतीयाको व्रतका लागि अघिल्लो साँझ खाइने दर पछिल्लो समय भने महिनौँअघिदेखि सुरु हुने भोजमा परिणत भएको छ । सरकारी कार्यालय, संघसंस्था तथा विभिन्न समूहले समेत तीजका नाममा लामो समयअघिदेखि कार्यक्रम आयोजना गर्न थालेका छन् ।
संस्कृतिविद् तथा धर्मशास्त्रीहरूले पनि तीजलाई प्रतिस्पर्धा र प्रदर्शनको पर्व बनाउनेभन्दा यसको सामाजिक तथा सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत देखासिकी र अनावश्यक खर्चको दबाब पर्ने भएकाले तडकभडक नियन्त्रण गर्नुपर्ने उनीहरूको भनाइ छ ।
दुःख पोख्ने पर्वदेखि उत्सवको बजारसम्म
तीज केवल व्रत र पूजाको पर्व मात्र नभई महिलाले आफ्ना सुख–दुःख अभिव्यक्त गर्ने सामाजिक अवसरका रूपमा पनि विकास भएको छ । माइतीबाट कर्मघर पुगेपछि भोगेका पीडा, पारिवारिक समस्या तथा सामाजिक विभेदलाई महिलाले तीजका गीतमार्फत सार्वजनिक गर्ने परम्परा पुरानै हो ।
तर पछिल्लो समय तीज गीत र कार्यक्रमको स्वरूपसमेत बदलिँदै गएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीज नेपाली सीमाभन्दा बाहिरसमेत फैलिएको छ । भारतका केही क्षेत्रमा समेत तीजका कार्यक्रम र गीत लोकप्रिय हुन थालेका छन् ।
शास्त्रीय रूपमा दर खाने दिन भाद्र शुक्ल द्वितीयाको साँझ हो। यसको मूल उद्देश्य भोलिपल्ट गरिने निराहार व्रतका लागि पूर्वतयारी गर्नु हो ।
चार दिनमा समेटिन्छ तीज
आज दर खाएसँगै सुरु हुने तीज पर्व चार दिनसम्म चल्छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत तथा पूजा गरिन्छ। चौथीका दिन गणेशको पूजा गरिन्छ भने पञ्चमीमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको समापन हुन्छ ।
यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने तथा ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउने शास्त्रीय विधान रहेको छ ।
पार्वतीको तपस्यासँग जोडिएको तीज
हरितालिका तीजको धार्मिक आधार सत्ययुगमा पार्वतीले गरेको तपस्यासँग जोडिएको छ। पुराणअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् । पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गराउन खोजेपछि साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा लगेका थिए ।
त्यही क्रममा पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । यही घटनासँग जोडेर भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । वर्षभरिका सुख–दुःख साटासाट गर्ने, माइती तथा इष्टमित्रसँग भेटघाट गर्ने र गीत–संगीतमार्फत भावना अभिव्यक्त गर्ने भएकाले तीज नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित छ ।
तर बदलिँदो तीजले अहिले एउटा प्रश्न भने छाडेको छ—दरको मौलिक परम्परालाई जोगाउने कि त्यसलाई तडकभडक र प्रदर्शनको संस्कृतिले विस्थापित गर्ने ?