बारा‍मा ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ – Nepalboli

बारा‍मा ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

   २०८३ भाद्र १६, मंगलवार  

बारा— बाराको विश्रामपुरबाट हराएका ११ वर्षीय बालक राजेशकुमार साहको भारतमा हत्या भएको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धानका क्रममा बालकको अपहरण गरी भारत लगेर हत्या गरेको आरोपमा एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ भदौ ९ गते बिहान करिब ९ बजे विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा बस्ने ११ वर्षीय राजेशकुमार साह हराएको भन्दै उनका आफन्तले बिहान ११ः४० बजे प्रहरी चौकी मुसहर्वामा जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले खोजतलास अघि बढाएको थियो। खोजीका क्रममा भदौ ११ गते बिहान १०ः३० बजे भारतको बिहारस्थित मोतिहारी जिल्लाको दुनियापारी पञ्चायत–१ मा रहेको सिन्हा नदीको किनारमा बालकको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई बाराको विश्रामपुरबाट अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा बस्ने १७ वर्षीय किशोर लाई पक्राउ गरेको छ।

पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै