टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान, बाढीको अवस्था चौबिसै घण्टा निगरानी गरिने – Nepalboli

टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान, बाढीको अवस्था चौबिसै घण्टा निगरानी गरिने

   २०८३ भाद्र १५, सोमबार  

काठमाडौं— रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव र बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न ‘रियल–टाइम’ सीसी क्यामेरा जडान गरिएको छ । बाढीको जोखिम तत्काल पहिचान गरी समयमै पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा क्यामेरा जडान गरिएको हो ।

जडान गरिएको क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव, पानीको अवस्था तथा बाढीको सम्भावित जोखिमलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिनेछ ।

यस प्रणालीलाई जल तथा मौसम विज्ञान विभागको २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवासँग एकीकृत गरिने जनाइएको छ । क्यामेराबाट प्राप्त दृश्य तथा तथ्याङ्कका आधारमा नदीको अवस्थालाई चौबिसै घण्टा निगरानीमा राखिनेछ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा विज्ञहरूसँग रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गर्नुभएको थियो ।

छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो ।

सोही बैठकको निर्णयअनुसार टिमुरेमा सीसी क्यामेरा जडान गरिएको हो । हाल प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ । उक्त प्रणाली सोमबार रातिदेखि नै सञ्चालनमा आउने जनाइएको छ ।

विशेषगरी चीनसँगको सीमावर्ती क्षेत्रमा पर्ने टिमुरे–रसुवागढी क्षेत्रमा नदीको अवस्था अध्ययन, बाढीको जोखिम पहिचान तथा सम्भावित घटनाको प्रारम्भिक सूचना प्राप्त गर्न यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ ।

रियल–टाइम निगरानीबाट नदीको बहावमा आएको असामान्य परिवर्तन वा बाढीको अवस्था समयमै पहिचान गरी सम्बन्धित निकाय तथा जोखिममा रहेका समुदायलाई तत्काल सूचना प्रवाह गर्न सहयोग पुग्नेछ । यसले सम्भावित जनधनको क्षति न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै