मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं— मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेसँगै देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
सोमबार पनि देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ । मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम समेत बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।