पाँचौँ दिन पनि उद्धार अभियान तीव्र, बाढीमा ज्यान गुमाउनेको संख्या ७८१ पुग्यो
काठमाडौं— भोटेकोशी र त्रिशूली नदीको बाढीले निम्त्याएको विनाशको पाँचौँ दिनसम्म पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ । प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार हालसम्म ७८१ जनाको शव फेला परेको छ भने ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बीच उद्धार, राहत तथा क्षतिको विवरण संकलनको काम भइरहेको बताएका हुन् ।
“काम चुनौतीपूर्ण छ, तर हामी दृढताका साथ अघि बढिरहेका छौँ,” भन्दै प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ । राहत तथा उद्धारका लागि आइतबार थप ७२ सहित हालसम्म ३९४ वटा उडान सञ्चालन भएका छन् ।
प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत २७९ जना तथा रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट २६७ घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएकोमा १५६ जना डिस्चार्ज भइसकेका छन् ।
प्रधानमन्त्रीका अनुसार आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामार्फत प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ ।
रसुवा र नुवाकोटमा ८८२६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा छन् । आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री शाहले बताए ।
अन्तर्राष्ट्रिय सहयोगअन्तर्गत भारतबाट ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ । चीन, अमेरिका, अष्ट्रेलिया र स्विट्जरल्यान्डलगायतबाट पनि सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनका लागि पनि काम भइरहेको छ। हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बीटीएस टावर सञ्चालनमा आएका छन् ।
प्रधानमन्त्री शाहले पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
उनले विपद्को सामना गर्न सरकार, सुरक्षा निकाय, स्वयंसेवक र नागरिकको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।