रसुवा बाढीः मानसरोवर यात्राका ४० बस सम्पर्कविहीन
काठमाडौं— रसुवा–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका ४० वटा बस सम्पर्कविहीन भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै यात्रु, चालक तथा यातायात मजदुरको अवस्थासमेत अन्योलमा परेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार बाढीबाट सार्वजनिक सवारीसाधनमा भएको क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन सकेको छैन । क्षतिको विवरण संकलनका लागि महासंघको आपत्कालीन कार्यसमिति बैठकले केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका २५ वटा बस अहिलेसम्म सम्पर्कमा आएका छैनन् । ती बसमा सवार यात्रु तथा करिब ५० जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको उनले बताए ।
त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको महासंघले जनाएको छ ।
बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध रहेकाले सम्पर्कविहीन सवारीसाधन र यात्रुको अवस्था यकिन गर्न कठिनाइ भइरहेको महासंघले जनाएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको अवस्था स्पष्ट हुँदै गएपछि क्षतिको विस्तृत विवरण आउने अपेक्षा गरिएको छ ।