रसुवामा बाढीले ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त, ४१ पुलमा क्षति – Nepalboli

रसुवामा बाढीले ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त, ४१ पुलमा क्षति

   २०८३ भाद्र ११, बिहीबार  

काठमाडौँ — भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ ।

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको मन्त्रालयले जनाएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ ।

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारले ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध गराएको छ । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी तथा निजी क्षेत्रका गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । सरकारले उपलब्ध गराएका १० र निजी क्षेत्रबाट उपलब्ध १० वटा उपकरणमार्फत सडकमा थुप्रिएको लेदो तथा क्षतिग्रस्त संरचना हटाउने काम भइरहेको छ ।

मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै उद्धार तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै