अधिकार र पुनःस्थापनाको माग गर्दै जनकपुरमा मुक्त हरवा–चरवाको प्रदर्शन
जनकपुरधाम—आफूहरूलाई सरकारले मुक्त घोषणा गरे पनि भूमि, आवास र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारबाट अझै वञ्चित गरिएको भन्दै मुक्त हरवा–चरवाहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आह्वानमा मंगलबार भएको प्रदर्शनमा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता थियो ।
जनकपुरधामस्थित रेलवे स्टेशनबाट सुरु भएको विरोध र्याली नगरका विभिन्न मुख्य सडक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो। सहभागीहरूले कार्यालयको मूल ढोकाअगाडि धर्ना दिँदै आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनमा बोल्दै संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा–चरवा प्रथा अन्त्य गरी आफूहरूलाई मुक्त घोषणा गरे पनि व्यवहारमा भने जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताए ।
संघर्ष समितिका प्रतिनिधिका अनुसार मुक्त घोषणा भएको लामो समय बितिसक्दा पनि धेरै परिवार भूमिहीन, आवासविहीन तथा सामाजिक सुरक्षाबाट वञ्चित छन्। सरकारी घोषणाको प्रभावकारी कार्यान्वयन नहुँदा मुक्त हरवा–चरवाहरू पुनः आर्थिक तथा सामाजिक संकटमा परेको उनीहरूको आरोप छ ।
समितिले पहिचान, अधिकार र उचित पुनःस्थापनाको मागलाई लिएर आन्दोलन थप सशक्त बनाउने जनाएको छ । आन्दोलनको दोस्रो चरणअन्तर्गत भदौ १० गते बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुनः धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
बुधबार नै प्रदेश सरकारलाई मागपत्र बुझाएर मुक्त हरवा–चरवाका समस्या तत्काल सम्बोधन गर्न दबाब दिने संघर्ष समितिले जनाएको छ ।