देशभर बदली, पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं— मनसुन सक्रिय रहेकाले आज देशभरको मौसम बदली हुने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । यसका कारण दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
राति कोशी, बागमती र गण्डकीका तराईका केही तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।