सिराहामा करेन्टको कहर: धानमा सिँचाइ गर्न मोटर चलाउँदा एकै दिन तीनजनाको मृत्यु
सिराहा— धानखेतमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा करेन्ट लागेर सिराहामा आइतबार एकै दिन तीनजनाको मृत्यु भएको छ । नवराजपुर र लक्ष्मीपुरपतारी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन किसानको ज्यान गएको हो ।
करेन्ट लागेर मृत्यु हुनेमा नवराजपुर गाउँपालिका–४ सुन्दरपुरका २८ वर्षीय पशुपति शर्मा तथा लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय पुलकित मण्डल र ४५ वर्षीय मोहम्मद इसा अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार शर्मा आइतबार बिहान धानमा पानी लगाउन खेतमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई नवराजपुर आधारभूत अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, मण्डल धानखेती हेर्न खेतमा पुगेका बेला विद्युतीय मोटरमा जोडिएको तारमा अल्झिएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको लक्ष्मीपुरपतारी–५ का वडाध्यक्ष ब्रह्मदेव यादवले बताए ।
अन्सारी भने धानखेतमा पानी लगाउन मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ ।
महेशपुर पतारका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार तीनैजनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार–शारदा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको छ ।
सिराहामा करेन्टसम्बन्धी दुर्घटना गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा करेन्ट लागेका १२६ वटा घटना भएका छन् ।ती घटनामा ५० जनाको मृत्यु भएको छ ।