बागमतीमा मुख्यमन्त्री थापाको विश्वासको मत : राप्रपामा फ्लोर क्रसको तयारी
काठमाडौं— बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिन लागेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद फेरि सतहमा आएको छ । पार्टीको आधिकारिक निर्देशनविपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने तयारीमा राप्रपाका केही सांसद देखिएपछि प्रदेशसभामा ‘फ्लोर क्रस’ हुने सम्भावना बढेको हो ।
राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन पार्टीको ह्विप जारी गरेकी छन् । तर संसदीय दलका नेता उद्धव थापासहितको समूह भने मुख्यमन्त्रीको पक्षमा उभिएको बताइएको छ । यही समूहका तीन सांसद अहिले प्रदेश सरकारमा मन्त्री छन् ।
राप्रपा स्रोतका अनुसार कम्तीमा पाँच सांसद मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्ने तयारीमा छन् । उनीहरूले पार्टीको केन्द्रीय निर्देशन अस्वीकार गर्दै मतदान गरे राप्रपाभित्र अनुशासनको कारबाहीको विषय बन्न सक्नेछ । पार्टीको ह्विप उल्लंघनका कारण प्रदेशसभा सदस्य पदसमेत गुम्न सक्ने संवैधानिक अवस्था आउन सक्ने नेताहरूको भनाइ छ ।
मुख्यमन्त्रीलाई समर्थन गरेपछि राप्रपाबाट राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङ मन्त्री बनेका छन् । उनीहरूलाई राप्रपाको केन्द्रीय अनुशासन समितिले १२ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र पठाइसकेको छ ।
स्पष्टीकरण सोधिएपछि उनीहरूमाथि पार्टीले अनुशासनको कारबाही अघि बढाउन सक्ने सम्भावना रहेको राप्रपा स्रोतले जनाएको छ। मुख्यमन्त्रीको विश्वासको मतका क्रममा राप्रपाका सांसदले लिने निर्णयले बागमती प्रदेश सरकारको समीकरणसँगै राप्रपाको आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिएको छ ।