चितवनमा ट्रक, कार र मोटरसाइकल ठोक्किए, २१ वर्षीय युवकको मृत्यु
चितवन— भरतपुर महानगरपालिका–१ आँपटारीमा आइतबार बिहान ट्रक, कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए ।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक, कार तथा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।