उपेन्द्र यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै सिरहामा जसपा नेपालका ७० नेताले गरे पार्टी परित्यागको घोषणा – Nepalboli

उपेन्द्र यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै सिरहामा जसपा नेपालका ७० नेताले गरे पार्टी परित्यागको घोषणा

   २०८३ भाद्र ७, आईतवार  

सिरहा— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिरहामा करिब ७० जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको सामूहिक राजीनामापत्रमा पार्टीभित्र देखिएको जातीय गुटबन्दी, आपसी असहिष्णुता, नेतृत्व तहबाट हुने दबाब र हस्तक्षेप का कारण लोकतान्त्रिक मूल्य–मान्यता तथा संगठनात्मक अनुशासन कमजोर बन्दै गएको उल्लेख गरिएको छ ।

राजीनामापत्रमा हस्ताक्षरकर्ताहरूले आफूहरू विभिन्न जिम्मेवारी र साधारण सदस्यका रूपमा लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि निष्पक्ष ढंगले पार्टी निर्माण गर्ने वातावरण समाप्त हुँदै गएको महसुस गरेपछि सामूहिक रूपमा सदस्यता त्याग्ने निर्णय गरेको बताएका छन् ।

उनीहरूले पार्टी नेतृत्वलाई आफ्नो नाम अभिलेखबाट हटाई आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै पार्टीमा रहँदा प्राप्त सहयोग, सद्भाव र अवसरका लागि धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्राप्त जानकारीअनुसार सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाबाट सुरु भएको यो सामूहिक राजीनामामा जिल्ला सदस्य, पालिका तहका पदाधिकारी र साधारण सदस्यसहित करिब ७० जना नेता–कार्यकर्ता सहभागी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै