नेपाल–भारत सीमा बैठकः लागुऔषध, तस्करी र किसान पक्राउका विषयमा सहकार्य बढाउने सहमति
महोत्तरी — नेपाल–भारत सीमामा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका प्रशासन र सुरक्षा निकायले समन्वय थप सुदृढ बनाउने सहमति गरेका छन् ।
शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध ओसारपसार, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासन, अवैध हतियार तथा सीमा स्तम्भ व्यवस्थापनलगायतका विषयमा विस्तृत छलफल भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका जिल्ला अधिकारी ९डीएम० तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा बसेको बैठकमा अघिल्लो बैठकका निर्णय र त्यसको कार्यान्वयन अवस्थाको समेत समीक्षा गरिएको थियो ।
बैठकमा महोत्तरी, सर्लाही र रौतहटका प्रशासनिक तथा सुरक्षा अधिकारीका साथै सीतामढीका सुरक्षा अधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो। सीमापार हुने लागुऔषध कारोबार नियन्त्रणलाई दुवै पक्षले प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् ।
चोरीका सवारीसाधन, चोरीका सम्पत्ति तथा अवैध हतियारको सीमापार ओसारपसार रोक्न सूचना आदानप्रदान, संयुक्त निगरानी र आवश्यक समन्वयलाई प्रभावकारी बनाउने सहमति भएको छ ।
बैठकमा नेपाली किसान मल खरिद गर्न भारत जाँदा पक्राउ परेका घटनाबारे पनि नेपाली पक्षले गम्भीर चासो व्यक्त गरेको थियो । भारतीय पक्षले उक्त विषयमा सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र आगामी दिनमा किसानका लागि सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको प्रजिअ यादवले जानकारी दिए ।