सतर्कता केन्द्रको अनुगमन, उपत्यकाका १५ सरकारी कार्यालयलाई सेवा सुधार निर्देशन – Nepalboli

सतर्कता केन्द्रको अनुगमन, उपत्यकाका १५ सरकारी कार्यालयलाई सेवा सुधार निर्देशन

   २०८३ भाद्र ६, शनिबार  

काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका १५ सरकारी कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाह, कर्मचारी अनुशासन र कार्यालय आचरण सुधार गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रले भदौ ५ गते काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरेको हो । निरीक्षणका क्रममा सेवा प्रवाहको अवस्था, कर्मचारीको समयपालना, तोकिएको पोसाक तथा आचरणको पालना मूल्यांकन गरिएको थियो ।

केन्द्रका अनुसार अनुगमनमा केही कर्मचारी तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको तथा कतिपयले निर्धारित पोसाकसमेत नलगाएको भेटिएको छ ।

नागरिकलाई गुणस्तरीय, अनुशासित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिइने केन्द्रले जनाएको छ ।

यसैबीच, सरकारी निकायमा हुने भ्रष्टाचार, कर्मचारीले आचारसंहिता उल्लंघन गरेको वा शङ्कास्पद सम्पत्तिसम्बन्धी सूचना भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन ०१–४२००३४५ मा जानकारी गराउन पनि केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै