निःशुल्क औषधि अभाव हुन नदिन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्री वर्षभरि उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयमार्फत स्थानीय तहहरूमा आवश्यक औषधि र मेडिकल सामग्रीको सूचीसहित व्यवस्थापनसम्बन्धी निर्देशिका पठाएको हो ।
परिपत्रमा स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि नियमित वितरण गर्न र जिम्मेवारीअनुसार औषधि तथा सामग्रीको आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ ।
मन्त्रालयले पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि र विभिन्न मेडिकल सामग्रीको विस्तृत सूची पनि उपलब्ध गराएको जनाएको छ ।