कर्णालीमा नुहाउन गएका दुई बालबालिका बेपत्ता, तीव्र बहावले बगाएको आशंका
हुम्ला— हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् । नदीमा एक्कासी आएको तीव्र बहावले उनीहरूलाई बगाएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा खार्पुनाथ–१ का १३ वर्षीय प्रशान्त रावल र ११ वर्षीया अनु शाही रहेका छन् । दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।
प्रहरीका अनुसार आज बिहान करिब ११ बजे खाना खाएपछि नदी किनारमा नुहाउन गएका उनीहरूलाई अचानक बढेको बहावले बगाएको हो । घटना लगत्तै प्रहरी, स्थानीयवासी र सुरक्षाकर्मीले नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरेका छन् ।
प्रहरी नायब उपरीक्षक शङ्कर खड्का ले कर्णालीमा पानीको बहाव अत्यधिक भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बने पनि दुवै बालबालिकाको खोजी तीव्र पारिएको जानकारी दिए ।