बालेन सरकारको पाँच महिनामा ११ हजार कर्मचारी कारबाहीमा, ८६५ जनउजुरी फर्छ्योट
काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि सरकारी कार्यालयमा अनुशासन कडाइ र जनगुनासो सुनुवाइ उल्लेख्य रूपमा बढेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १,२९८ उजुरीमध्ये १,११४ वटा ८५.८२% फर्छ्योट गरिएको छ ।
यो दर अघिल्लो वर्षको सोही अवधिको ७४.१० प्रतिशत भन्दा ११.७२ प्रतिशत विन्दुले बढी हो । त्यतिबेला ५५६ उजुरीमध्ये ४१२ वटा मात्रै टुंग्याइएको थियो ।
अनुगमनतर्फ पनि केन्द्रले व्यापक सक्रियता देखाएको छ । अघिल्लो वर्ष ३१८ सरकारी कार्यालय अनुगमन गरिएकोमा यस वर्ष सो संख्या बढाएर ९२४ पुर्याइएको छ । अनुगमनका क्रममा आचारसंहिता र समय पालना नगरेका १०,२६८, पोशाक नियम उल्लंघन गरेका ६४५ तथा कार्यकक्षमा अनुपस्थित ९१ जना गरी ११,००४ कर्मचारी कारबाहीको दायरामा परेका छन् ।
सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । साथै, सरकारी सेवा प्रवाहमा भ्रष्टाचार, आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना ०१–४२००३४५ हटलाइनमार्फत दिन नागरिकलाई आग्रह गरेको छ ।