नेपाल भ्रमणमा भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ, रक्षा सहकार्य विस्तारमा जोड – Nepalboli

नेपाल भ्रमणमा भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ, रक्षा सहकार्य विस्तारमा जोड

   २०८३ भाद्र ३, बुधबार  

काठमाडौं — भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठले १६ देखि १९ अगस्ट २०२६ सम्म नेपालको औपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारी, राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै नेपाल–भारत रक्षा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।
जनरल सेठ १६ अगस्टमा काठमाडौं आइपुग्दा नेपाली सेनाका वरिष्ठ अधिकारी तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए ।
१७ अगस्टमा उनले टुँडिखेलस्थित सैनिक मञ्चमा पुष्पहार अर्पण गर्दै राष्ट्रसेवाका क्रममा वीरगति प्राप्त सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि नेपाली सेना मुख्यालयमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गारद प्रदान गरिएको थियो ।
नेपाली सेनाका प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी जनरल अशोक राज सिग्देलसँग भेटवार्ता गर्दै जनरल सेठले द्विपक्षीय रक्षा सहकार्य विस्तारका उपायबारे छलफल गरे । सो अवसरमा भारतको निरन्तर सहयोगअन्तर्गत विपद् पूर्वतयारी तथा मानवीय उद्धार क्षमतालाई सुदृढ बनाउन नेपाली सेनालाई सवारीसाधन तथा चिकित्सकीय उपकरणसमेत हस्तान्तरण गरिएको थियो ।
भ्रमणका क्रममा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरे। त्यसपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।
१८ अगस्टमा उनले शिवपुरीस्थित नेपाली सेना कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका प्रशिक्षार्थी तथा प्राध्यापकसँग अन्तरक्रिया गरे। उक्त अन्तरक्रियामा भारत र नेपालका सशस्त्र सेनाबीचको शैक्षिक सहकार्य तथा विचार आदानप्रदानको महत्त्वमा जोड दिइएको थियो ।
त्यसै दिन जनरल सेठले नेपालका प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारी, विशेषगरी रक्षा सहकार्यका विषयमा छलफल भएको थियो ।
भ्रमणको अन्तिम दिन १९ अगस्टमा जनरल सेठ पोखरा पुगेका थिए । उनले त्यहाँ भारतीय सेनाका पूर्वसैनिकहरूसँग भेटघाट गर्दै राष्ट्रको सार्वभौमिकता र सुरक्षाका लागि उनीहरूले गरेको सेवा, समर्पण तथा बलिदानप्रति गहिरो सम्मान व्यक्त गरे ।
कार्यक्रममा वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साथै पूर्वसैनिकहरूको जीवनयापन तथा स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले उनीहरूलाई गतिशीलता सहयोगी उपकरण वितरण गरिएको थियो ।
जनरल सेठले कोहलपुरमा स्थापना गरिएको पूर्वसैनिक अंशदायी स्वास्थ्य योजना पोलिक्लिनिक पनि पूर्वसैनिक समुदायको सेवामा समर्पित गरे । उक्त स्वास्थ्य केन्द्रको स्थापनाले नेपालमा रहेका भारतीय पूर्वसैनिक तथा उनीहरूका आश्रितको स्वास्थ्य सेवामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भारतीय स्थलसेनाध्यक्षको चारदिने नेपाल भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै रक्षा तथा सुरक्षा लगायतका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप गहिरो बनाउन योगदान पुर्‍याएको भारतीय पक्षले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै