भीमफेदीमा सरकारी स्कारपियो ६० मिटर तल खस्योस् मुख्य न्यायाधीशसहित ६ जना घाइते – Nepalboli

भीमफेदीमा सरकारी स्कारपियो ६० मिटर तल खस्योस् मुख्य न्यायाधीशसहित ६ जना घाइते

   २०८३ भाद्र २, मंगलवार  

काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान भएको सरकारी स्कारपियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। गम्भीर घाइते चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी, उच्च अदालत वीरगञ्जका रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू तथा चालक छुनिलाल चौधरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर छ। मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अन्य घाइतेहरूको पनि टाउको तथा शरीरका विभिन्न अङ्गमा चोट लागेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीले उद्धार गरेको थियो। सबै घाइतेको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडूलाई हेटौंडा अस्पताल पठाइएको छ । मुख्य न्यायाधीश डाँगी, गम्भीर घाइते लक्ष्मी बडू र अन्य दुई जनालाई भने सेनाको हेलिकप्टरमार्फत छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याइएको हो ।

दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको छ। सडकमा यातायात सञ्चालन भने सुचारु रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै