आज ६ प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, तराईमा हावाहुरीको जोखिम
काठमाडौँ — देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको तराई तथा मधेसका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका धेरै र तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा पनि मौसम बदली नै रहने महाशाखाले जनाएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाले विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।