देउवा आज स्वदेश फर्किँदै, स्वागतका लागि विमानस्थलमा इतर समूहका शीर्ष नेता जुट्दै
काठमाडौं— स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारी गरेका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुगेर देउवाको स्वागत गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ ।
देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।
स्वदेश फर्किएलगत्तै देउवा पार्टीका आन्तरिक गतिविधिमा सक्रिय हुने तयारीमा छन् । उनले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने कांग्रेसको राष्ट्रिय भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताए ।