डा. राजेन्द्र प्रसाद विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि – Nepalboli

डा. राजेन्द्र प्रसाद विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

   २०८३ श्रावण २६, मंगलवार  

जनकपुरधाम — वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र प्रसाद विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

विमलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि जनकपुरधाम–१०, देवीचोकस्थित निवासमा राखिएको थियो। त्यहाँ साहित्यकार, प्राध्यापक, लेखक, विद्यार्थी, राजनीतिकर्मी तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सरकारले उनको योगदानको सम्मान गर्दै राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार मंगलबार दिउँसो उनको पार्थिव शरीरलाई जनकपुरधामका विभिन्न स्थान हुँदै नगर परिक्रमा गराइएको थियो । त्यसपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषाविज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए ।

नेपाली, मैथिली, हिन्दी तथा अंग्रेजी भाषा–साहित्यका अध्येता एवं स्रष्टा विमलको सोमबार राति ७९ वर्षको उमेरमा निधन भएको थियो । परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजे परिवारसँग कुराकानी गरिरहेका बेला अचानक अस्वस्थ भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा राति पौने १ बजे उनको निधन भएको हो ।

विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका विमलले चार दशकभन्दा बढी समय शिक्षण, भाषा अनुसन्धान तथा साहित्य सिर्जनामा बिताएका थिए । उनका साहित्यिक कृतिमा नेपाली तथा मैथिली समाजको सामाजिक, सांस्कृतिक र भाषिक परिवेशको गहिरो प्रभाव देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै