डा. राजेन्द्र प्रसाद विमलको निधन, राजकीय सम्मान दिइने – Nepalboli

डा. राजेन्द्र प्रसाद विमलको निधन, राजकीय सम्मान दिइने

   २०८३ श्रावण २६, मंगलवार  
Rajendra bimal

जनकपुरधाम — वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र प्रसाद विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्य तथा भाषा अनुसन्धानमा लामो समय योगदान पुर्‍याएका विमलको सोमबार राति निधन भएको हो ।

परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजे परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला उनी अचानक अस्वस्थ भएका थिए। तत्काल अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा राति पौने १ बजे उनको निधन भएको हो ।

डा. विमलको निधनप्रति साहित्य, शिक्षा तथा भाषा क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमाएको बताएका छन् ।

उनको पार्थिव शरीर अहिले जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ  । साहित्यकार, प्राध्यापक, लेखक, विद्यार्थी तथा शुभेच्छुकहरू उनको अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा पुगिरहेका छन् ।

सरकारले डा. विमललाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ। उनको पार्थिव शरीरलाई आज दिउँसो ३ बजे जनकपुरधामका विभिन्न स्थान हुँदै नगर परिक्रमा गराइने कार्यक्रम रहेको छ ।

डा. विमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए ।

विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका विमलले लामो समय शिक्षण, भाषा अनुसन्धान र साहित्य सिर्जनामा बिताएका थिए। उनका लागि साहित्य केवल सिर्जनाको माध्यम मात्र थिएन, भाषा, समाज र संस्कृतिको अध्ययन गर्ने महत्वपूर्ण आधारसमेत थियो ।

उनका रचनामा नेपाली तथा मैथिली समाजको सामाजिक, सांस्कृतिक र भाषिक परिवेशको गहिरो प्रभाव पाइन्छ। चार दशकभन्दा लामो समय साहित्य तथा भाषा क्षेत्रमा सक्रिय रहेका विमलले नेपाली र मैथिली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

भाषा तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनी जगदम्बा श्री पुरस्कार, मधुपर्क सम्मान लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए।

डा. विमलको निधनले नेपाली, मैथिली तथा भाषा अनुसन्धानको क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै