आज पनि वर्षाको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना – Nepalboli

आज पनि वर्षाको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

   २०८३ श्रावण २६, मंगलवार  

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभर वर्षाको गतिविधि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेको महाशाखाले जनाएको छ ।

यसको प्रभावले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै