वर्षाले रोकिएन आस्था, साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भीड – Nepalboli

वर्षाले रोकिएन आस्था, साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भीड

   २०८३ श्रावण २५, सोमबार  

काठमाडौँ— साउन महिनाको अन्तिम सोमबार काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । वर्षा भइरहे पनि श्रद्धालुको उत्साहमा कमी देखिएको छैन ।

बिहानैदेखि परेको वर्षाका बीच भक्तजनहरू पूजा, आराधना तथा भगवान् शिवको दर्शनका लागि पशुपतिनाथ मन्दिर परिसर पुगेका छन् । भक्तजनको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ ।

साउनको सोमबार भगवान् शिवको पूजा तथा दर्शन गर्ने धार्मिक परम्परा रहेकाले देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ आउने गर्छन्। विशेषगरी साउनको अन्तिम सोमबार भक्तजनको उपस्थिति अझ बढ्ने गरेको छ।

यसैबीच, अन्तिम सोमबारको अवसरमा बोलबम यात्राका लागि भक्तजनहरू वाग्मती नदी किनारस्थित सुन्दरीजलमा समेत जम्मा भएका छन्। भक्तजनहरूले सुन्दरीजलमा स्नान गरी शुद्ध वस्त्र धारण गरेर त्यहाँबाट जल बोकी पशुपतिनाथ पुगेर भगवान् शिवलाई अर्पण गर्ने परम्परा छ।

साउन महिनाभर सोमबारका दिन सुन्दरीजलबाट जल लिएर पशुपतिनाथमा चढाउने बोलबम यात्रा धार्मिक आस्थाको महत्वपूर्ण परम्पराका रूपमा रहँदै आएको छ। अन्तिम सोमबार भएकाले सुन्दरीजलदेखि पशुपतिनाथसम्मको क्षेत्रमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै