दुई किलोमिटर सडक बनाउन दुई वर्ष, अझै कालोपत्रको टुंगो छैन – Nepalboli

दुई किलोमिटर सडक बनाउन दुई वर्ष, अझै कालोपत्रको टुंगो छैन

   २०८३ श्रावण २४, आईतवार  

बागलुङ — बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको करिब दुई किलोमिटर सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको यो सडक सात महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि दुई वर्ष बित्न लाग्दा अझै कालोपत्र हुन सकेको छैन ।

बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको २ किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने गरी २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ भदौ १५ गतेभित्र काम सक्नुपर्ने थियो । तर, निर्धारित समयभित्र निर्माण सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार ६ करोड ७२ लाख ६५ हजार रुपैयाँमा एचसिबीजिसीएस कम्पनीले ठेक्का पाएको हो । पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थपिएकोमा उक्त अवधिमा पनि काम पूरा नभएपछि सार्वजनिक खरिदसम्बन्धी संशोधित व्यवस्थाअनुसार २०८३ असोज मसान्तसम्मका लागि पुनः म्याद थप गरिएको छ ।

हाल सडक निर्माणको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ ।

सात महिनामा सक्ने सम्झौता भएको दुई किलोमिटर सडक दुई वर्ष पुग्न लाग्दा पनि कालोपत्र नहुनुले निर्माण व्यवसायीको कार्यक्षमता र आयोजनाको अनुगमनमाथि समेत प्रश्न उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै