अधिकार र पहिचानको संरक्षणमा जोड दिँदै आज विश्व आदिवासी दिवस – Nepalboli

अधिकार र पहिचानको संरक्षणमा जोड दिँदै आज विश्व आदिवासी दिवस

   २०८३ श्रावण २४, आईतवार  

काठमाडौं— विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, परम्परा र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोग्दै आएका समस्याबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस मनाइँदैछ ।

हरेक वर्ष अगस्ट ९ मा मनाइने यो दिवसका अवसरमा विश्वका विभिन्न मुलुकमा आदिवासी जनजातिको अधिकार र उनीहरूको विशिष्ट पहिचान संरक्षणका विषयमा विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घअन्तर्गत आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै बसेकाले यही दिनलाई दिवसका रूपमा चयन गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब जनसङ्ख्यामध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदाय रहेको बताइन्छ ।

विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले बोल्ने गरेका छन् । उनीहरूले करिब पाँच हजार फरक संस्कृति र जीवनपद्धतिको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै