भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकको जनहित माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको शिलान्यास
काठमाडौ– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका स्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।
विद्यालय भवन निर्माणको शिलान्यास भारतको नेपालस्थित दूतावासका प्रथम सचिव श्री नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीयस्तर आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।
करिब ५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत कार्यान्वयन भइरहेको हो। निर्माण हुने नयाँ भवनमा दुई वटा ब्लक रहनेछन्, जसमा सात वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष तथा छुट्टै सरसफाइ सुविधा समावेश हुनेछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले प्रदान गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गरे।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले विद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति विद्यार्थीका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भारत सरकारको सहयोगप्रति आभार व्यक्त गरे।
भारतको नेपालस्थित दूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारको अनुदान सहयोगमा नेपालभर सञ्चालन भएका विभिन्न विकास परियोजनाबारे जानकारी गराउँदै जनहित माध्यमिक विद्यालय भवन निर्माण परियोजनाले नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।