अमेरिका–इरान वार्ताबारे दाबी बाझिँदै गर्दा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार – Nepalboli

अमेरिका–इरान वार्ताबारे दाबी बाझिँदै गर्दा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

   २०८३ श्रावण १९, मंगलवार  

काठमाडौं – विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा पर्ने ओमानको तट नजिक एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ । अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला यो घटना भएको हो ।

युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो ।

यूकेएमटीओले जहाजको झण्डा, बोकेको कार्गो वा अन्य परिचय सार्वजनिक गरेको छैन । बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको जनाएको छ, तर क्षतिको प्रकृति वा परिमाणबारे थप विवरण दिएको छैन ।

‘स्ट्रेट अफ होर्मुज’ विश्वकै सबैभन्दा संवेदनशील ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ । युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा समुद्री सुरक्षाको चुनौती थप बढेको छ ।

यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताएका छन् । तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पार्दै आफूले ओमानसँग ‘स्ट्रेट अफ होर्मुज’मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा मात्रै छलफल गरिरहेको जनाएको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरेका छन् । उता ट्रम्पले भने इरानले नै वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताएका छन् । उनले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको उल्लेख गरे पनि सम्भावित वार्ताबारे थप विवरण खुलाएका छैनन् ।

उता इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबले उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै