प्रतिनिधिसभाको बैठक बस्दै, आयोगको प्रतिवेदनदेखि भूमिहीनको मुद्दासम्म छलफल हुने – Nepalboli

प्रतिनिधिसभाको बैठक बस्दै, आयोगको प्रतिवेदनदेखि भूमिहीनको मुद्दासम्म छलफल हुने

   २०८३ श्रावण १९, मंगलवार  

काठमाडौं — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको पुनःस्थापना तथा लालपूर्जा वितरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन् ।

त्यसपछि नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चिततासहित स्थायी पुनःस्थापना गर्न तथा वास्तविक भूमिहीनलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारसँग माग गरिएको छ । उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै