जनकपुरधाम उपमहानगरपालिकाको बजेट दुई अर्ब ६५ करोड
मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको सोमबार भएको १५ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८३–८४ का लागि दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्ताव गरिएको छ । जसमध्ये चालुतर्फ एक अर्ब ४२ करोड ९७ लाख ७९ हजार र पुजीगततर्फ एक अर्ब २२ करोड २२ लाख ५३ हजार रहेको छ । नगर सभामा जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह अनुपस्थित रहेको समयमा कार्यपालिकाको निर्णय बमोजिम जनकपुरधाम उपमहानगरपालिका वडा १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले आगामी आर्थिक वर्षका लागि सो रकमको बजेट प्रस्ताव गर्नुभएको हो ।
प्रस्तावित बजेटमध्ये आन्तरिक स्रोततर्फ १९ करोड ६२ लाख ६० हजार, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ३० करोड ५९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान दुई करोड १६ लाख ५३ हजार, सङ्घको ससर्त अनुदानतर्फ चालुमा ६८ करोड ९५ लाख र सङ्घकै ससर्त अनुदानतर्फ पुँजिगतमा ५६ करोड छ लाख रहेको छ ।
त्यसैगरी सङ्घको विशेष अनुदान ८३ लाख, सङ्घकै समपुरक अनुदान एक करोड ५८ लाख, प्रदेशतर्फ ससर्त अनुदान ८० लाख, प्रदेशतर्फ विशेष अनुदान २० लाख समावेश गरिएको छ । त्यसैगरी प्रदेशको राजस्व बाँडफाटबाट एक करोड ७१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २० करोड ६९ लाख १९ हजार, स्थानीय राजस्व बाँडफाँट १२ करोड तथा चालु आर्थिक वर्षमा बचत हुने करिब ५० करोड रकमबाट उक्त खर्च बेहोरिने बजेट बक्तव्यमा उल्लेख रहेको जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत शिवनारायण साहले जानकारी दिनुभयो ।
बजेटको मुख्य प्राथमिकतामा जनकपुरधाम नगरको भौतिक पूर्वाधारको विकास, सरसफाइ र स्वच्छ वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र समावेशीकरण, पर्यटन र रोजगारी सिर्जना, सुशासन र संस्थागत सबलीकरणलाई राखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले १५ औं नगरसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा जनकपुरधाम उपमहानगरपालिकाले जनअपेक्षित कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
नगर प्रमुख साहले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, पर्यटन तथा जनकपुरधाम नगर क्षेत्रको सुन्दरता प्रवर्धन, शैक्षिक सुधार र रोजगारी सिर्जनाको विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
नीति कार्यक्रममा कर प्रणालीलाई करदातामैत्री बनाउन मोबाइलबाट कर तिर्ने व्यवस्था लागु गर्ने, बेरोजगार युवाहरूबाट ठोस प्रस्ताव आह्वान गरी उनीहरूलाई सर्टिफिकेट वा अन्य जमानीको आधारमा पाँच लाखसम्म सहयोग गर्ने नीति लिएको उल्लेख छ । नगर सभाको उद्घाटनसत्रमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेसहित विभिन्न क्षेत्रका व्यक्तिकोे उपस्थिति थियो ।