रास्वपा महाधिवेशनमा ८० वटा मेसिन मार्फत विद्युतीय मतदान हुदै – Nepalboli

रास्वपा महाधिवेशनमा ८० वटा मेसिन मार्फत विद्युतीय मतदान हुदै

   २०८३ असार १०, बुधबार  

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाको जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ । मतदान प्रक्रियालाई सहज, व्यवस्थित र छिटो छरितो बनाउन महाधिवेशन स्थलमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तयारी गरिएको छ।

मतदानका क्रममा एक जना प्रतिनिधिलाई आफ्नो मत सङ्केत गर्न करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने निर्वाचन समितिले अनुमान गरेको छ। सोही समय अवधिलाई ध्यानमा राख्दै महाधिवेशन प्रतिनिधिलाई मतदान प्रक्रियाबारे पूर्वजानकारी दिन र प्राविधिक रूपमा अभ्यस्त गराउन अहिले महाधिवेशन स्थलमा नमुना ९डेमो० मतदान सञ्चालन भइरहेको छ।

परम्परागत मतपत्रको तुलनामा मत गणना कार्यलाई निकै छिटो र पारदर्शी बनाउने विश्वास पार्टीले लिएको छ।

केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। चितवनस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको जानकारी दिनुभयो।

प्रवक्ता झाका अनुसार उम्मेदवारमाथि दाबी विरोधका लागि बुधबार साँझ ५ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। साँझ ६:३० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर बेलुकी ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गरिने तयारी भइरहेको उहाँले बताउनुभयो।

मतदान प्रारम्भ भएको चार घण्टाभित्र मतदान कार्य सम्पन्न हुने र मतदान सकिएको दुई घण्टाभित्रै मतपरिणामसमेत सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । नामावलीमाथि दर्ता हुने दाबी र विरोधका आधारमा परिमार्जन गरेर अन्तिम सूची प्रकाशन हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै