उपत्यका छाड्ने यात्रुको चाप अहिलेदेखि नै बढ्यो,तीन दिनमै ४ लाख यात्रु बाहिरिए
चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए ।
उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे। उनले भाडादर पारदर्शी बनाउनका लागि यात्रु सहायता कक्ष र भाडा दरका बोर्ड विभिन्न स्थानमा राखिने जानकारी दिए ।
त्यस्तै यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने बताए।