बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ – Nepalboli

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

   २०८२ असार २३, सोमबार  

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर कीर्ते गरेको आरोपमा मुद्दा दर्तापछि फरार रहेका उनलाई सोमबार जनकपुरबाटै पक्राउ गरिएको हो । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरिएको उजुरीपछि साहविरुद्ध अनुसन्धान सुरु गरिएको थियो ।

साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए ।

तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा कीर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा कीर्ते गरेको पुष्टि भएको थियो ।

प्रहरीले मुद्दा दर्ता गरेपछि उनी फरार रहेका थिए । साहलाई सोमबार नै जिल्ला अदालत धनुषामा पेश गरेर अनुसन्धानका लागि तीन दिनको म्याद लिएको डिएसपी सिंहले बताए ।

नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा परिषद्का अध्यक्ष नियुक्त भएका साह केही समयअघि पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै