देशभर फैलिए मनसुन – Nepalboli

देशभर फैलिए मनसुन

   २०८२ असार ६, शुक्रबार  

यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।

मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताउनुभयो । “हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ ।

साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ”, उहाँले भन्नुभयो, “भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।”

शुक्रबार साँझ बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ।

यस क्रममा राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना पनि छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ – देशको पहाडी भूभागको केही स्थान तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै