चिनियाँ सुन तस्करलाई सहयोगी भुमिका खेल्ने एक चिनियाँ सहित ३ जना महिला सीआईबीको नियन्त्रणमा – Nepalboli

चिनियाँ सुन तस्करलाई सहयोगी भुमिका खेल्ने एक चिनियाँ सहित ३ जना महिला सीआईबीको नियन्त्रणमा

   २९ श्रावण २०८०, सोमबार  

त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले काठमाडौँमा ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

सुन तस्करीमा चिनियाँ नागरिक संलग्न रहेको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका सहयोगी ३ जना महिलालाई सीआईबीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरिएका ३ महिलामध्ये एक जना चिनियाँ र दुई जना नेपाली छन् ।

तस्करीमा संलग्न चिनियाँ नागरिकलाई सहयोग गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । एसपी संजयसिंह थापा नेतृत्वको टोलीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।

तस्करीमा संलग्न चिनियाँसम्म पुग्ने सूत्रका रूपमा ती महिलाहरूको सहयोग लिनुपर्ने भन्दै ब्यूरोका अधिकारीहरूले उनीहरूको परिचय गोप्य राखेका छन् । अनुसन्धानको क्रममा ‘लिंक’मा देखिएकाहरूलाई बोलाएर सोधपुछ गर्ने कुरा सामान्य भएको प्रहरी प्रवक्ता ‘डीआईजी’ कुबेर कडायतले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ती ३ जना महिला चिनियाँ तस्करसँग निकट सम्बन्धमा रहेको पाइएको छ । तस्करले उनीहरूलाई हङकङ र दुबईबाट सुन ल्याएपछि नेपालमा स्वरूप परिवर्तन गरेर भारत पठाउने काममा परिचालन गरेको अनुसन्धानबाट थाहा भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै