दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ- कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।
‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्,’ उनले भने । यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ । यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिए । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको जानकारी दिएका हुन् । उनले राष्ट्रिय प्रसारणलाईनमा जडित बिजुलीको पहुँचमा उक्त जनसंख्या आएको बताए । यसमध्ये मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताएका छन् ।
यस्तै, कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ ।
कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।
नेपालको ७५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५०५ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । यस्तै, २२७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहमा सोलार, साना तथा लघुजलविद्युत आयोजनाबाट विद्युतीकरण भएका छन् ।