पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा धनुषामा, कहाँ कति पर्यो पानी ?

मनसुन सक्रिय भएका कारण देशभर वर्षा हुने क्रम जारी छ। अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार विगत २४ घण्टामा देशका धेरै स्थानमा ठूलो वर्षा भएको छ।
‘आज (मंगलबार) बिहान पौने ९ बजेसम्मको रेकर्डअनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा धनुषामा भएको छ’, उनले भने, ‘धनुषाको तुल्सी स्टेसन (मौसम महाशाखाको वर्षा मापन केन्द्र) मा २९१ मिलिमिटर वर्षा भएको देखिएको छ।’
मौसमविद्का अनुसार २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै उक्त अवधिमा महाशाखाले वर्षामापन केन्द्र राखेका स्थानमध्ये सिमरा (बारा) र वीरेन्द्रनगर (सुर्खेत) मा धेरै भारी वर्षा भएको छ भने जनकपुर (धनुषा), काठमाडौं (काठमाडौं), पोखरा (कास्की) र भैरहवा (रुपन्देही) मा भारी वर्षा भएको छ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान पौन ९ बजेसम्म सिमरामा १२५.७ मिलिमिटर र वीरेन्द्रनगरमा ११७.० मिलिमिटर वर्षा भएको छ। यस्तै जनकपुरमा ९०.६, पोखरामा ६६.२ मिलिमिटर, काठमाडौंमा ६४.३ मिलिमिटर र भैरहवामा ६२.६ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्का अनुसार ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा तथा सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।
मौसम महाशाखाले जारी गरेको तापक्रम तथा वर्षा विवरण-