भारतमा कार दुर्घटना – नेपालगञ्जका एकै परिवारका चारसहित ६ जनाको मृत्यु
भारतमा कार दुर्घटना हुँदा नेपालका ६ जनाको मृत्यु भएको छ । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको हो । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।
गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शव भारतको बहराइचमा परीक्षणपछि नेपाल ल्याउनका पहल भइरहेको छ ।