भारतको अनुदानमा नेपालका चार वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर – Nepalboli

भारतको अनुदानमा नेपालका चार वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर

   १९ श्रावण २०८०, शुक्रबार  

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चार वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।

शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्ने समझदारी पत्रमा उल्लेख छ।

समझदारी पत्र अनुसार यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको बताइएको छ।

यसमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन्। सबै परियोजनाको कूल लागत करिब नेरु १२२० करोड (भारु ७६२ करोड)  रहेको छ। यी परियोजना धेरैजसो नेपाल सरकारको स्थानीय निकायमार्फत् कार्यान्वयन भएको जनाइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै