जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ – Nepalboli

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

   २०८० श्रावण १६, मंगलवार  

झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद फैसला भई फरार रहेका जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं १० बस्ने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

विसं२०७० साल असार १३ गते ६ महिना कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको रिजालले जनाउनुभयो ।

यसैगरी, अदालतको मिति २०७२ साल असार १ गतेको फैसला अनुसार सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपियाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका वडा नं ४ बस्ने सुसन चुडाललाई पनि प्रहरीले पक्राउ गरेर कारागार पठाइएको छ ।

प्रहरीका अनुसार तीन वर्षअघि बालयौन दुरुपयोग मुद्दामा १ वर्ष कैद, तथा प्रतिवादीले पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाई भराई दिनु पर्ने फैसला भएपछि फरार रहेका मेचीनगर नगरपालिका वडा नं ९ का नाम नखुलाइएका अर्का व्यक्तिलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै