विदेशी संस्कृति अंगाल्दा आफनो संस्कृतिलाई भुल्यौँ- अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् । बिहीबार काठमाडौँमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताए । उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतीपूर्ण रहेको बताए ।
अर्थमन्त्री महतले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए । उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए । उनले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृत्ति बढेको बताए ।
अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान, जीवनशैलीलाई पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए । उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए । उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए । उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए ।