फरार भएका चीनका परराष्ट्र मन्त्री काङ बर्खास्त, वाङ यी पुन नियुक्त – Nepalboli

फरार भएका चीनका परराष्ट्र मन्त्री काङ बर्खास्त, वाङ यी पुन नियुक्त

   ९ श्रावण २०८०, मंगलवार  

चिनियाँ राष्ट्रपति सी चिनफिङले परराष्ट्र मन्त्री छिन काङलाई बर्खास्त गरेका छन्। एक महिनादेखि सार्वजनिक रूपमा नदेखिएका परराष्ट्र मन्त्री काङलाई मंगलबार बर्खास्त गरिएको ग्लोबल टाइम्सले जनाएको छ।

काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुन नियुक्त गरिएको छ।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका थिएनन्।

जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। बोरेलको बेइजिङ भ्रमण रद्द भयो।

इन्डोनेसियाको जकार्तामा भएको दक्षिण पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।

यो विषयमा जिज्ञासा राख्दा केही दिनअघि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन्। उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि सामान्य रूपले चलिरहेको दाबी गरेकी थिइन्।

काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ। चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै