देशभरै फैलिदै डेंगु सङ्क्रमणः चार हजार बढीमा पुष्टि भएको तथ्यांक
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार हजार २८९जनामा डेंगु पुष्टि भएको छ ।
यसै गरी हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो ।
डा मरासिनीका अनुसार डेंगु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ । सोही प्रदेशमा दुई हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, बाग्मती प्रदेशमा ६६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१६, गण्डकी प्रदेशमा ३४४, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट तीन हजार ६७१ जनामा डेङगु पुष्टि भएको छ ।
जिल्लाअनुसार सुनसरी दुई हजार ५४२, धादिर्ङमा ४०१, दार्चुला १९०, कास्की २०५, सङ्खुवासभा ६४, काठमाडौँ ८०, कञ्चनपुरबाट ५२,रुपन्देहीमा ४५,म्याग्दीबाट ५४ मोरङबाट ३८ जनामा डेंगु पुष्टि भएको छ ।
डा मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् ।