राजनीतिक आबद्धताको उजुरी पछि वीरका कार्यकारी निर्देशक छानबिनमा – Nepalboli

राजनीतिक आबद्धताको उजुरी पछि वीरका कार्यकारी निर्देशक छानबिनमा

   ७ श्रावण २०८०, आईतवार  

राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेल राजनीतिक दलको सदस्य रहेको उजुरीमा कारबाही अगाडि बढाएको छ। निर्देशक पौडेल नेकपा (एमाले) को सङ्गठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिव पदमा कार्यरत रहेको उजुरी परेको थियो।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन नहुने व्यवस्था छ। तर निर्वाचन आयोगमा परेको उजुरीमा डा पौडेल दलको सदस्य रहेको दाबी गरिएको छ।

सो सम्बन्धमा स्पष्ट पार्न आयोगले वीर अस्पतालका निर्देशक पौडेल आबद्ध दाबी गरिएको राजनीतिक दल नेकपा (एमाले), उहाँ कार्यरत वीर अस्पताल, पदाधिकारी रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल र नियुक्त गरेको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै