विराटनगर महानगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट

विराटनगर महानगरपालिकाको न्यायिक समितिमा साँध सिमानासम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।महानगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये साँध सिमानाको विवादसम्बन्धी ५५ वटा मुद्दा छन् । यो कुल मुद्दाको २३ प्रतिशत हो । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गएको आर्थिक वर्ष २०७९/८० मा २३७ वटा मुद्दा दर्ता भएका थिए ।
तीमध्ये २०९ वटा मुद्दामा सुनुवाइ गरी फर्स्यौट गरेको न्यायिक समितिका संयोजक उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । दर्ता भएकामध्ये ८८ प्रतिशत मुद्दा फर्स्यौट गरेको उहाँले बताउनुभयो ।
कार्कीका अनुसार सबैभन्दा बढी वडा १२ बाट २१ र १८ नम्बरबाट उजुरी दर्ता भएका थिए । जसमा साँध सिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको थियो ।
त्यस्तै, खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्नेगरेको कार्कीले बताउनुभयो । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फर्स्यौट हुन बाँकी छ । दर्ता भएकामध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ ।
त्यस्तै ४४ वटा मिलापत्र भएको छ । ‘६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं’ उपमेयर कार्कीले भन्नुभयो, ‘मिलेसम्म मिलापत्र गराउँछौं, धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।’ अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले बताउनुभयो ।