अब कात्तिक भित्र ठेक्का सम्झौता नगरे बजेट रोक्का हुुने – Nepalboli

अब कात्तिक भित्र ठेक्का सम्झौता नगरे बजेट रोक्का हुुने

   ४ श्रावण २०८०, बिहीबार  

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजना/कार्यक्रमको कात्तिक मसान्त भित्र ठेक्कारखरिद सम्झौता नभए बजेट रोक्का हुने भएको छ ।

अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा बजेट खर्च गर्ने निकायका नाममा ८१ बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो यस्तो निर्देशन दिएको हो । नेपालमा झण्डै ४० प्रतिशत पूँजीगत बजेट असारमा हुने भएको छ । सोहीकारण सरकार असारे विकासका नामका बदनाम पनि छ । यस्तो प्रवृत्ति रोक्न भन्दै अर्थले बजेटमा परेका आयोजनारकार्यक्रमको पूर्वतयारीको चरणका काम छिटो सक्न निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले कार्यक्रमरआयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी २०८० असोजभित्र बोलपत्र आह्वान समेत गरिसक्न निर्देशन दिएको छ ।

कात्तिक मसान्त भित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्न र त्यसको १५ दिन भित्र काम सुरु गर्न कार्यादेश दिनुपर्ने अर्थको निर्देशन छ । यो समयावधिमा ठेक्का प्रक्रिया अगाडि नबढेका कार्यक्रममा विनियोजन भएको बजेट रोक्का हुने भएको छ ।

मन्त्रालय र निकाय मातहतका पूँजीगत खर्च गर्ने कार्ययोजना र जिम्मेवार पदाधिकारीको नाम सहितको विवरण असोज मसान्त भित्र तयारी गरी मासिक प्रगतिको अनुगमनको व्यवस्था मिलाउन समेत अर्थले निर्देशन दिएको छ ।

विनियोजित बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका आयोजना कार्यान्वयनमा लैजान पाइने छैन । त्यस्ता कार्यक्रममा बजेट निकासा, रकमान्तर र कार्यक्रम संशोधान माग नगर्न समेत अर्थले सचेत गराएको छ । त्यस्तो अनुमति नदिने अर्थले स्पष्ट पारेको छ । अर्थको सहमति विना थप आर्थिक दायित्व सिर्जना गर्न समेत रोक लगाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै