नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ -मन्त्री ज्वाला – Nepalboli

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ -मन्त्री ज्वाला

   २ श्रावण २०८०, मंगलवार  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलबार उच्च अधिकारीसहितको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात् सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

मन्त्री ज्वालाले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताउनुभयो । उहाँले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशकै सङ्घीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नेपालमा पहिलो नमुना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

‘‘अब जुन नागढुङ्गा सुरुङ मार्गको मुख्य टनेल छ । त्यसको ३५ मिटर मात्रै ब्रेक थ्रो हुन बाँकी छ । अर्को जुन आपत्कालीन सुरुङ माग छ । करिब साढे चार सय जति बाँकी छ । चार महिनाभित्र मुख्य सुरुङ मार्गको ब्रेक थ्रो हुन्छ । आपत्कालीन सुरुङ मार्ग छ त्यो थोरै समयमा नै हुन्छ । अब सुरुङ माग करिब एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गर्ने गरी लागि रहेका छौँ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘देशकै सङ्घीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना हो । नेपालमा पहिलो नमुना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना अघि बढेको छ । आवतजावतको लागि सहजता हुन्छ । यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठुलो मद्दत पुर्‍याउँछ ।’’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै